स्वीडिश नागरिकता: अब पाँच होइन, आठ वर्ष
राष्ट्रिय दिवसकै दिन लागू भएको नयाँ कानुनले बसोबास अवधि, आम्दानी, भाषा र आचरणका सर्त कडा बनाएको छ ।
मुख्य कुराहरू
- बसोबास अवधि ५ बाट ८ वर्ष
- मासिक करिब २०,००० क्रोनर आम्दानी चाहिने
- स्वीडिश भाषा र समाजको ज्ञान अनिवार्य
१. आठ वर्ष बसोबास
स्वीडेनको राष्ट्रिय दिवस ६ जुनदेखि नागरिकताका नयाँ नियम लागू भएका छन् । अब सामान्य नियमअनुसार लगातार आठ वर्ष स्वीडेनमा बसेपछि मात्र नागरिकताका लागि योग्य भइन्छ । पहिले यो अवधि पाँच वर्ष थियो ।
२. आफ्नै आम्दानी अनिवार्य
आफ्नै खर्च धान्ने आम्दानी अनिवार्य गरिएको छ— वार्षिक तीन ‘इन्कम बेस अमाउन्ट’ अर्थात् मासिक करिब २० हजार क्रोनर । पछिल्ला तीन वर्षमा कुल छ महिनाभन्दा बढी सरकारी आर्थिक सहायता (försörjningsstöd) लिएको हुनु हुँदैन ।
३. भाषा र आचरण
स्वीडिश भाषा र स्वीडिश समाजबारेको ज्ञान देखाउनुपर्छ । विद्यालयको ग्रेड, SFI कोर्स D, komvux वा फोल्कहोगस्कोला (folkhögskola) को प्रमाणपत्रबाट यो देखाउन सकिन्छ । ऋण नतिर्ने वा अपराधमा मुछिनेलाई ‘अनुशासित जीवन’ को सर्त पूरा नगरेको मानिन्छ ।
४. पुराना आवेदनमा पनि लागू
ध्यान दिनुहोस्: कानुनमा संक्रमणकालीन व्यवस्था छैन । ६ जुनअघि आवेदन दिएर निर्णय नभएका सबै फाइल पनि नयाँ नियमअनुसारै हेरिन्छन् ।



